कपिलवस्तु १६ कार्तिक ।
बाणगंगा नगरकार्यपालिकाले नगरभित्रका हरेक कित्ताका जग्गाको वर्गीकरण पुरा गरी राजपत्रमा सूचना निकाल्ने निर्णय गरेसंगै साउनदेखि रोकिएको कित्ताकाट खुल्ने भएको छ । जग्गाको कित्ताकाट रोकिएका कारण नगरभित्रको आर्थिक गतिविधि नै सुस्त भएको थियो । भूउपयोग परिषदको आज सम्पन्न बैठकले जग्गाको सम्पूर्ण कित्ताहरुको अधावधिक विवरण स्वीकृत गर्दै कित्ताकाट खोल्ने आवश्यक प्रकृया पुरा गर्न नगर कार्यपालिका समक्ष सिफारिस गरेको थियो । निकै लामो प्रकृया पुरा गरेर कित्ताकाट खोल्ने काम अघि बढेको नगरका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनिले वताउनु भयो । कपिलवस्तुमा वाणगंगाले करिव २ वर्ष लगाएर यो काम कुशलता पूर्वक सम्पन्न गरेको छ मरासीनिले भन्नु भयो ।

यता नगर मेयर चक्रपाणी अर्यालले नगर कार्यपालिकाले निर्णय गरेर सबै कित्ताको विवरण समेटिएको सूचना राजपत्रका छाप्ने निर्णय गरेको स्पष्ट पार्नु भयो । उहाले एकदुइदिनमै राजपत्रमा छापेसंगै नापी विभाग ,मालपोत विभाग र सम्वन्धित नापी कार्यलय एवम मालपोत कार्यलयलाई पत्राचार गरिने जानकारी दिनु भयो । यो संगै अव लामो समयदेखि रोकिएको कित्ताकाट खुल्ने उहाले स्पष्ट पार्नु भयो । बाणगंगा बाहिरवाट बसाई सराई गरेर आउनेको उच्च प्राथमिकतामा पर्दै आएकोले कित्ताकाट नहुदा सारै समस्या परेको भन्नेहरुलाई अव सुविधा भएको छ उहाले भन्नु भयो ।

अब कुनै जग्गा व्यावसायिक वर्गीकरणमा परेको छ भने कित्ताकाट नहुने भन्ने समस्या रहँदैन । अंशबण्डा गर्दा न्यूनतम् यति जग्गा हुनै पर्छ भन्ने पनि अब समस्या हुँदैन । भू९उपयोग नियमावलीले जमिनलाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र सरकारले तोकेको अन्य क्षेत्र भनेर १० क्षेत्रमा वर्गीकरण गर्न सक्ने व्यवस्था छ । यसै अनुसार सम्वन्धित क्षेत्रका प्राविधिक तथा विज्ञको सकृय सहभागितामा मेयरको अध्यक्षतामा रहेको भूउपयोग परिषद बाणगंगाले कित्ताहरुको बर्गिकरणको सम्पूर्ण काम सकेको परिषद सदस्य भेषराज पाण्डेले वताउनु भयो ।
वाइट स् कपिलवस्तुमा बाणगंगा नगरपालिका बुद्धभूमी नगरपालिका कपिलवस्तु नगरपालिका र महाराजगंज नगरपालिकामा जग्गाको बर्गिकरणको काम अघि बढेको थियो । यी पालिका मध्ये बाणगंगाले सबै भन्दा पहिला सम्पन्न गरेको हो । बुद्धभूमि नगरपालिकामा जग्गाको कित्तागत वर्गीकरण प्रक्रिया सुरु भइसकेको छ। हाल डाटाभण्डारण, नक्साङ्कन र प्राथमिक सूचीकृतिकरणको काम अघि बढिरहेको नगरपालिकाले जनाएको छ। यस्तै कपिलवस्तु नगरपालिकामा जग्गाको कित्तागत वर्गीकरण प्रक्रिया सुरु भइसकेको छ। हाल डाटा संकलन र प्राथमिक कागजी तथा नक्सागत काम भइरहेको छ। नगरपालिकाले सबै वडामा क्रमशः वर्गीकरण लागू गर्ने तयारी गरेको छ । महाराजगंज नगरपालिकामा मुख्य क्षेत्रको बर्गिक।रण पुरा गरि टोल स्तरमा काम विस्तार गर्ने तयारी भएको जनाइएकोछ ।










