देशको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशमा यस वर्षको मनसुन प्रतिकूल भएपछि धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा जम्मा ४७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।
लामो समयदेखि पानी नपर्दा किसानको चिन्ता बढेको छ। विशेषगरी महोत्तरी जिल्लामा रोपाइँको प्रगति झन् न्यून, करिब ३० प्रतिशत मात्र पुगेको छ। कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जमिन रहेको जिल्लामा करिब ६४ हजार ९७७ हेक्टरमा धान खेती हुँदै आएको छ।

जिल्लाको उत्तर–पश्चिमी क्षेत्रमा किसानले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुवार स्यालो र ट्युबवेलको सहयोगमा करिब २५ प्रतिशत रोपाइँ गर्न सफल भएका छन्। तर, जिल्लाभर रोपाइँको अवस्था सन्तोषजनक छैन।
पानीको कमीले गर्दा खेतका ब्याड सुक्न थालेका छन् भने रोपिएका धानका बिरुवामा पनि धाँजा फाट्न थालेका छन्।

मधेस प्रदेश सरकारले सिफारिस गरेपछि सङ्घीय मन्त्रिपरिषद्ले प्रदेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो हेलिकप्टरमार्फत मधेसको सुक्खा प्रभावित क्षेत्रको अवलोकन गरेका थिए। अवलोकनपछि उनले मधेसका किसानलाई राहत पुर्याउने कार्यक्रमका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।


महोत्तरीको मटिहानी नगरपालिका–७ र ८ का खेतहरू अधिकांश सुख्खा छन्। केही किसानले पम्पसेटको सहायताले रोपाइँ गरे पनि, पानीको अभावमा खेतमा चिरा पर्न थालेका छन्।
त्यही गाउँका स्थानीय इस्लाम कवाडी भन्छन्–
“यो वर्ष खेतीको लागि मात्रै होइन, पिउनकै लागि पनि कलमा पानी आउँदैन। खेती पनि आकाशको पानीको भरमा गर्नु पर्ने, खै यो साल त खेती हुँदैन जस्तो छ।”
यस्तै, स्थानीय शान्ति खतुवा भन्छिन्–
“खडेरी र सुख्खाका कारण हामीसँग खेती नभएको हो। पैसा हुनेहरूले त पम्पसेट चलाएर केही रोपे, हामी जस्ता गरीब किसानलाई भने आकाशको पानीमै भर पर्नु परेको छ।”

महोत्तरीसहित मधेसका किसान अहिले पानीका लागि आकाशतर्फ हेर्दै प्रार्थना गरिरहेका छन्।
कसैले स्थानीय सरकार र सम्बन्धित निकायको सहयोग र राहतको अपेक्षा गरेका छन्, भने कसैले वर्षाले साथ देओस् भनेर आकाशतिर हात उठाएका छन्।










