

सुबास खनाल, कपिल्वस्तु,
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ कपिलवस्तु ओएसिस क्लबले आयोजना गरेको कपिलवस्तु ओएसिस क्रिकेट कप २०८२ को शुक्रबार मायादेवी रङ्गशाला बोडगाउँमा उद्द्धाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका सचिव नीम प्रसाद पोखरेले कार्यक्रममको उद्घाटन गर्दै खेलप्रति युवाहरूको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै क्लबले खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि क्रिकेट प्रतियोगिता आयोजना गरेको प्रति धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्दै ओएसिस क्लबका उपाध्यक्ष दिपेन्द्र पौडेलले खेलपेमी युवाहरूका लागि खेल ठूलो अवसर रहेको बताउँदै खेल निष्पक्ष तरिकाले सम्पन्न हुने बताउनुभयो ।
उहाँले खेलप्रति रुचि राख्ने युवाहरूका लागि क्लबले विभिन्न समयमा यस्ता खेलकुद कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । शुक्रबार भएको पहिलो खेलमा आयोजक क्लब कपिलवस्तु ओएसिसले जित हासिंल गरेको छ । जनप्रिय क्लब पिपराले ९७ रनको लक्ष्य दिएको थियो । जसमा आयोजक क्लब कपिलबस्तु ओएसिसका शुनिल क्षेत्रीको अर्धसतकमा जित निकालेको हो । यस्तै भोली शनिबार ४ वटा खेल हुने छन् । जसमा बाणगंगा ७ र बाणगंगा ४ , त्यसैगरी बाणगंगा स्कुल र होराइजन स्कुल ,त्यस्तै लुम्बिनी भिजन कलेज र बाणगंगा नगरपालिका वडा नम्बर ११, बाणगंगा नगरपालिका वडा नम्बर ६ र वडा नम्बर १ बीच खेल हुनेछ ।
विजेता टोलीलाई नगद रु. ११,१११ र उपविजेता टोलीलाई रु. ६,६६६ पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । खेल संयोजक अमृत गिरीका अनुसार खेल १६ गते देखी २० गते सम्म सञ्चालन हुनेछ । कार्यक्रममा विशिष्ट अतिथि बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्याल, वैज्ञानिक वन व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष डिल्लीराज रेग्मी, लुम्बिनी भिजन क्याम्पसका क्याम्पस प्रमुख सुरेन्द्र पाण्डे, मायादेवी रंगशालाका अध्यक्ष ईश्वरी गिरी रहनुभएको थियो। कार्यक्रम कपिलवस्तु ओएसिस क्लबका अध्यक्ष महेन्द्र पाण्डेको अध्यक्षता र साझा डायरी अनलाइनका प्रबन्धक पशुपति गिरीको सञ्चालनमा सम्पन्न भएको थियो।।



