२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

कपिलवस्तु, युनिक भुसाल 

कपिलवस्तुको बाणगंगा नगरपालिकामा रातको समयमा छाडा चौपायाका कारण भइरहेका सडक दुर्घटनालाई न्यूनीकरण गर्न विशेष पहल थालिएको छ।

स्थानीय ग्यालेक्सी युथ क्लबले छाडा चौपायाहरूको घाँटीमा रातमा टल्किने नियोन बेल्ट बाँध्ने अभियान सुरु गरेको हो।

क्लबका अध्यक्ष अमृत गिरीका अनुसार बनगाई, खारखानी, बुङ्ची लगायतका स्थानमा रहेका करिब ६० भन्दा बढी चौपायालाई नियोन बेल्ट लगाइएको छ।

यो बेल्ट टल्किने खालको भएकाले सवारी चालकले रातमा टाढैबाटै चौपाया देख्न सक्नेछन्, जसले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

अध्यक्ष गिरीले भन्नुभयो —

“सडक दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी मात्र पर्याप्त हुँदैन। सबैले साथ दिनुपर्ने आवश्यकता छ भन्ने सोचले क्लबले यो अभियान थालेको हो।”

उक्त कार्यमा क्लबका पदाधिकारीहरूसँगै पिपरा ट्राफिक कार्यालय, नगर प्रहरी तथा स्थानीय युवा व्यवसायी तिलक गिरीको पनि सहभागिता रहेको थियो

स्थानीयवासीले क्लबको यो पहलको स्वागत गरेका छन्। क्लबले आगामी दिनमा अन्य वडाहरूमा पनि अभियान विस्तार गर्ने योजना बनाएको जनाएको छ।

दाङ, देउखुरी ।

आइतबार बिहानै दाङको गढवा गाउँपालिका–१ धोद्रे पुल नजिकै भएको सडक दुर्घटनाले एउटा परिवार शोकमग्न बनेको छ। टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किँदा १९ वर्षीय सुशील थापाले ज्यान गुमाएका छन् भने अर्का युवक गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डवलबहादुर बमका अनुसार, प्युठानको ऐरावती गाउँपालिका–५ निवासी सुशील थापाको भालुवाङ अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। मोटरसाइकलमा सवार उनी साथी प्रचण्ड थापासँग चन्द्रौटा जाँदै गरेका थिए।

दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय प्रचण्ड थापा घाइते भएका छन्। उनको भालुवाङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटना आइतबार बिहान करिब ६ बजे भएको हो। चन्द्रौटा तर्फ पश्चिम गइरहेको ना ८ ख ८२५९ नम्बरको टिप्पर र विपरीत दिशाबाट आइरहेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल ठोक्किँदा यो दुःखद घटना घटेको हो।

मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ। यता दुर्घटनामा संलग्न टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–७, बनगाईस्थित ‘अर्घाखाँची सुपा देउराली सुनचाँदी पसल’ गए राति ठूलो चोरीको शिकार बन्यो। पसल सञ्चालक केशव सुनारका अनुसार चोरले करिब ८ तोला सुन, ३ किलो चाँदी र नगदसहित झन्डै २२ लाख रुपैयाँ बराबरको सम्पत्ति चोरी गरेका छन्।

सुनारले बिहानजसोझैं पसल खोल्दा सबै सामान तितरबितर र बहुमूल्य धातुहरू गायब देखेपछि एकक्षण अक्क न बक्क परे। तत्कालै प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय पिपराबाट टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ।

प्रहरी निरीक्षक लोकेन्द्र जिसीका अनुसार पसलमा भएको डकैती पूर्वयोजना अनुसार भएको देखिन्छ। प्रहरीले आसपासको क्षेत्रका सीसीटिभी फुटेज संकलन गरेर विश्लेषण गरिरहेको छ भने केही शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ पनि गरिएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार राति केही असामान्य गतिविधिहरू देखिए तापनि त्यति बेला कसैले ठ्याक्कै अनुमान गर्न सकेनन्। “हामीले केही आवाजहरू सुनेका थियौं, तर यस्तो ठूला चोरीको शंका थिएन,” एक स्थानीयले बताए।

यो घटना वाणगंगा क्षेत्रमा पछिल्लो समय बढिरहेका चोरीका घटनाहरूको श्रृंखला जस्तै देखिएको स्थानीय व्यापारीहरू बताउँछन्। उनीहरूले प्रहरी प्रशासनसँग सुरक्षा व्यवस्थामा कडाइ गर्न, रात्री गस्ती बढाउन र निगरानी प्रणालीहरूलाई थप प्रभावकारी बनाउन जोडदार माग गरेका छन्।

डर र त्रासको वातावरणमा दिन बिताइरहेका व्यापारीहरूले प्रश्न गरेका छन् — “अब हाम्रो पसल, सम्पत्ति र सुरक्षाको जिम्मेवारी कसले लिने?”

लक्ष्मण सापकोटा कपिलवस्तु।

“परिश्रम गर्ने हो भने नेपालमै आत्मनिर्भर बन्न सकिन्छ” भन्ने जीवित उदाहरण बनेका छन् जयलाल गिरी। लामो समयदेखि कृषिमा समर्पित गिरीले अहिले सुन जातका करिब २ सय कागतीका बिरुवा रोपेका छन्। तीमध्ये ५० बोटमा उत्पादन सुरु भइसकेको छ भने बाँकी १५० सय पनि उत्पादन दिन तयार अवस्थामा छन् , २ सय बिरुवा थप गर्ने उनले बताए । हाल उनले बार्षिक ३ लाखको हाराहारीमा आम्दानी गर्ने गरेका छन् ।

दैनिक झण्डै एक क्विन्टल कागती स्थानीय बजारमा बिक्री गर्दै आएका गिरीले यसैमार्फत प्रत्यक्ष अप्रत्यक्ष गरी १४ जनालाई रोजगारी दिएका छन्। परिश्रम र इमानदारीले कृषिबाटै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश उनले आफ्नै कर्ममार्फत फैलाइरहेका छन्।

कृषक मात्र नभई समाजसेवी र स्थानीय राजनीतिमा पनि सक्रिय गिरी बाणगंगामा बहुआयामिक व्यक्तित्वका रूपमा परिचित छन्। समाज र कृषिमा समान योगदान पुर्‍याउँदै आएका उनी किसानहरूले उत्पादन गरेका बस्तुको उचित मूल्य निर्धारण र बजार व्यवस्थापन गर्न सके सरकारले अझ ठूलो परिवर्तन ल्याउन सक्नेमा जोड दिन्छन्।

“म चाहन्छु, बाणगंगाका हरेक घरमा स्वदेशमै उत्पादित कागती पुगोस्,” गिरीले आफ्नो लक्ष्य प्रष्ट पारे।

कागती खेतीसँगै उनले बाख्रापालन र माछापालन पनि अगाडि बढाएका छन्। यस बहुमुखी कृषि व्यवसायले उनको मात्र जीवनस्तर उकासेको छैन, स्थानीय स्तरमै रोजगारी र आत्मनिर्भरता निर्माण गर्ने बाटो खोलिदिएको छ।

आज जयलाल गिरीको कथा केवल एउटा किसानको संघर्ष कथा मात्र होइन, आत्मनिर्भर नेपाल निर्माण गर्न सकिने प्रेरक संदेश पनि हो।

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट