
कपिलवस्तु नगरपालिका–२ बरदहवामा अवस्थित गौतम बुद्ध आधारभूत विद्यालयमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरमा विद्यालयका कुल १३४ जना बालबालिकाको आँखाको परीक्षण गरी आवश्यक औषधि वितरण गरिएको थियो।
नेपाल–भारत मैत्री सङ्घ केन्द्रीय समिति, कपिलवस्तु नगरपालिका र नेपाल अर्बुदरोग निवारण संस्था कपिलवस्तुको सहयोग तथा सिद्धार्थ नेत्रालयको सहकार्यमा शिविर सञ्चालन गरिएको हो। शिविरमा सिद्धार्थ नेत्रालयका प्रबन्धक सुदन वाग्ले सहित तीन सदस्यीय चिकित्सक टोलीले बालबालिकाको आँखाको चेकजाँच गरेको थियो।
सामाजिक विकास परिषद् नेपालद्वारा आयोजित उक्त निःशुल्क आँखा शिविरमा प्रमुख अतिथिका रूपमा लुम्बिनी विकास कोषका निवर्तमान कार्यकारिणी सदस्य राजेश ज्ञवालीले नगरपालिकाभित्र रहेका सबै ५२ वटा विद्यालयमा यस्ता जनहितकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेपाल अर्बुदरोग निवारण संस्था कपिलवस्तुका सचिव इन्दिरा देवकोटा, विद्यालयकी प्रधानाध्यापक सुजाता सुवाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू तथा विभिन्न समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बालबालिकाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको शिविरले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजक सामाजिक विकास परिषद् नेपालले जनाएको छ।
काठमाडौं । एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि निर्वाचित हुन सकेनन्। महासचिव पदमा ९९९ र केन्द्रीय सदस्यमा ९६१ मत प्राप्त गरेका पाण्डेलाई केन्द्रीय सदस्यमा जित हासिल गर्न १११५ भन्दा बढी मत आवश्यक थियो। महासचिवमा विजयी भएका शंकर पोखरेलले १२२८ मत प्राप्त गरेका थिए।
सञ्चार माध्यमसँग कुरा गर्दै पाण्डेले आफूले पाएको मतप्रति सन्तुष्टि व्यक्त गरे। महासचिवमा प्रतिस्पर्धा गरेर प्राप्त मतले देशभरका प्रतिनिधिको मन जित्न सफल भएको भन्दै उनले त्यसलाई आफ्नो ठूलो उपलब्धि माने।
एमालेको विधानअनुसार केन्द्रीय सदस्य पदमा मनोनीत गर्ने व्यवस्था भए पनि पाण्डेले मनोनीत भएर केन्द्रीय कमिटीमा जाने इच्छा नरहेको स्पष्ट पारे। “म ग्रासरुटबाट पार्टी काम गरेर आएको हुँ। फेरि पनि मैदानमै बसेर पार्टीका लागि काम गर्छु, मलाई मनोनीत गर्नुपर्दैन,” उनले भने।
यदि केन्द्रीय सदस्यमा निर्वाचित भएको भए स्थायी कमिटी सदस्यका रूपमा काम गर्ने सम्भावना रहे पनि अब त्यो सम्भावना न्यून देखिएको छ। यद्यपि पाण्डेले पद नपाए पनि पार्टीको नीति, विचार र कार्यक्रममा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याए।
“पार्टीको सही नीति, विचार र कार्यक्रमको पक्षमा उभिन्छु, गलत कुराको सधैं प्रतिवाद गरिरहनेछु,” उनले बताए।
रुपन्देही । रुपन्देहीमा एक किशोरको शव नालीमा भेटिएको छ । कञ्चन गाउँपालिका – ३ धौलागिरी चोकका १७ वर्षीय ईशान शर्मा पौडेलको हत्या भएको हो । ईशान तेक्वान्दोका खेलाडीसमेत थिए ।
स्थानीयका अनुसार एक साताअघि विद्यालय परिसरमा एकै युवतीको विषयलाई लिएर साथीहरूबीच विवाद भएको थियो । त्यही कारण उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।
प्रहरीका अनुसार ईशान बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन थिए । घटनास्थल वरपरको क्षेत्रमा निगरानी बढाइएको छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको रुपन्देही प्रहरीका सूचना अधिकारी सुरज कार्कीले बताए । दोषीलाई छिटो पक्राउ गर्न स्थानीयले माग गरेका छन् । ईशानको आमा गाउँमै ब्यूटी पार्लर चलाउँछिन् । तर, घटनाको दिन बाहिर थिइन् ।
कन्चन ३ का वडा सदस्यसमेत रहेका छिमेकी दीपक अधिकारी केही दिन पहिले विद्यालय परिसरमा ईशान र साथीहरूबीच एक युवतीको विषयमा विवाद भएको थियो ।
‘उनी कुनै कुलतमा भएको हामीले थापा पाएका थिएनौँ । तर आफ्ना कुरामा सधैँ अडिग रहने र नभए रिसाउने बानी थियो, केही दिनअघि विद्यालय परिसरमा युवतीलाई मन पराएको कुरालाई लिएर साथीहरूसँग विवाद भएको सुनिएको छ‘
२ गते साँझ जिम गर्न गएका उनी सँगै त्यहाँबाट निस्केका साथी समातिएको अधिकारीले सुनाए ।
‘घरको डेढ सय मिटरमै रहेको नालीमा फालिएको थियो शव, टाउकोमा पछाडि पट्टी चोट छ, घटनास्थलमा केही रगत चुहिएको, लतपतिएको केही छैन, त्यसैले बाहिर हत्या गरेर त्यहाँ फालेको अनुमान गर्न सकिन्छ, आफूले मन परेको केटीलाई अरुले हेरेको विषयमा विवाद भएको रे । समूह मिलेर आक्रमण गरेको हुनसक्छ’, उनले भने ।

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं. १० र वडा नं. २ मा अवस्थित मायादेवी साझेदारी वन उपभोक्ता समूहले वनको पुनःउत्पादन तथा वैज्ञानिक व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यसहित झाडी सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
वनको कटान क्षेत्रअन्तर्गत पटनातर्फका ३ वटा प्लट र पिपरातर्फका २ वटा प्लट गरी करिब २० हेक्टर क्षेत्रफलमा झाडी सरसफाइ कार्य गरिएको हो।
साझेदारी वनका अध्यक्ष दिनेश जयसवालले प्रभावकारी वन संरक्षण र व्यवस्थापनका लागि समूहले प्रत्येक वर्ष दुई पटक झाडी सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार झाडीका कारण नयाँ उम्रिएका बिरुवाहरू छोपिने तथा तिनको वृद्धि–विकासमा अवरोध पुग्ने भएकाले यस्तो अभियान आवश्यक हुन्छ।

झाडी सरसफाइपछि वन क्षेत्रमा प्राकृतिक रूपमा उम्रिने नयाँ बिरुवाहरूले पर्याप्त सूर्यको प्रकाश र स्थान पाउने, जसले तिनको वृद्धि सहज हुने अध्यक्ष जयसवालले बताउनुभयो। यस्ता कार्यक्रमले वनको घनत्व कायम राख्न तथा भविष्यमा गुणस्तरीय काठ उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

