बाणगंगा,
बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा आगामी मंसिर ५ देखि १७ गतेसम्म सञ्चालन हुने ‘प्रथम कपिलवस्तु कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२’ को तयारी हालसम्म भौतिक २० प्रतिशत पुरा भएको आयोजकले जनाएको छ।
उद्योग व्यापार संघ कपिलवस्तुले पहिलो पटक आयोजना गर्न लागेको महोत्सव प्रति स्थानीयवासीले उत्साह व्यक्त गर्दै स्वागत गरेका छन्। महोत्सवको उद्देश्य स्थानीय संस्कृतिको संरक्षण, समुदायबीच एकता प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धन गर्नु रहेको संघका अध्यक्ष खिमानन्द पौडेल कोपिलले बताउनुभयो ।
संघका अध्यक्ष कोपिलका अनुसार महोत्सवमा मेला, प्रदर्शनी, कला–संस्कृति प्रस्तुति, प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम मार्फत कपिलवस्तुको ऐतिहासिक तथा सांस्कृतिक पहिचान उजागर गरिनेछ। विभिन्न संघसंस्था र स्थानीय पक्षहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।
मायादेवी रंगशाला महत्वपूर्ण भए पनि विकासमा पछि पर्नु दुःखद रहेको उल्लेख गर्दै वडा नम्बर ८ का सदस्य शैलेन्द्र बेलबासेले महोत्सवले यस स्थानलाई देशभर चिनाउन सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभयो

कपिलवस्तु नागरिक समाजका पूर्व अध्यक्ष दोलक बहादुर पचाईले दीर्घकालदेखि उपेक्षित मायादेवी रंगशालालाई महोत्सवले नयाँ परिचय दिलाउने विश्वास व्यक्त गर्दै सबैलाई अवलोकनका लागि आग्रह गर्नुभयो ।

२०७० सालको कपिलवस्तु आइडल विजेता विजय सारु मगरले महोत्सवलाई भव्य र सभ्य बनाउन सबै क्षेत्रको साथ आवश्यक रहेको बताउनुभयो ।

यस्तै, स्थानीय युवा किरण पन्थीले मंसिर ५ देखि १७ गतेसम्म चल्ने महोत्सवमा उपस्थित हुन तथा सहयोग गर्ने आग्रह गर्नुभयो ।

महोत्सवमा स्थानीय उत्पादन, हस्तकला, कृषि सामग्री, प्रविधि, घरेलु उद्योग, मनोरञ्जन तथा संस्कृतिको प्रदर्शनी गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ। महोत्सवबाट स्थानीय उद्योगी, व्यापारी, किसान, उद्यमी तथा सर्वसाधारणबीच आपसी सहकार्य र सम्बन्ध सुदृढ हुने विश्वास राखिएको छ।










