कपिलवस्तु ।
सामुदायिक वन दिवस–२०८२ को अवसरमा मायादेवी साझेदारी वन उपभोक्ता समूह देशभरमै तेस्रो स्थान हासिल गर्दै नगद २५ हजारसहित पुरस्कृत भएको छ ।
समूहको यो उपलब्धिलाई विशेष बनाउन प्रदेश सभा सदस्य मधुसुदन शरण चौधरी, मायादेवी गाउँपालिकाका निःवर्तमान अध्यक्ष बजरंगी चौधरी, युवा समाजसेवी हिन्दराज चौधरी लगायतले एक कार्यक्रमका बीच शुभकामना दिँदै सम्मान गरेका छन् ।
कार्यक्रममा बोल्दै निःवर्तमान अध्यक्ष बजरंगी चौधरीले कपिलवस्तु जिल्लालाई देशव्यापी रूपमा चिनाउन समूहले पुर्याएको योगदानप्रति खुशी व्यक्त गर्नुभयो । त्यस्तै प्रदेशसभा सदस्य मधुसुदन शरण चौधरीले समूहको नेतृत्व र कामलाई उदाहरणीय भन्दै, अन्य संघ–संस्थाले पनि यसैगरी काम गरे जिल्लाको विकासमा ठूलो टेवा पुग्ने टिप्पणी गर्नुभयो । उहाँले प्राप्त पुरस्कार कपिलवस्तुको पहिचानसँग जोडिएको बताउँदै, यसले युवापुस्ताको विश्वास र लोकप्रियता अझै बढाउने विश्वास व्यक्त गर्नुभयो ।

मायादेवी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेश प्रसाद जयसवालले पुरस्कार प्राप्तिमा सहयोग गर्ने उपभोक्ता, कर्मचारी, सञ्चारकर्मी एवं सरोकारवालाप्रति आभार व्यक्त गर्दै, यस सम्मानले आगामी दिनमा अझै उत्कृष्ट कार्य गर्न प्रेरणा दिएको उल्लेख गर्नुभयो ।
वन संरक्षण, संवर्द्धन, दिगो उपयोग, वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण तथा गरिबी न्यूनिकरणमा उल्लेखनीय योगदान गरेकै आधारमा मायादेवी साझेदारी वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको हो ।









