लक्ष्मण सापकोटा,
कार्तिक २१ कपिलवस्तु ।
कपिलवस्तु उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष विष्णु प्रसाद न्यौपानेले महोत्सवको आय–व्यय नदेखाएको भन्ने कुरा पूर्ण रूपमा भ्रम मात्र भएको बताएका छन् । शुक्रबार बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा सम्पन्न १६औं कपिलवस्तु महोत्सवको तयारीसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै न्यौपानेले यस्तो स्पष्ट पारेका हुन् ।

उनले महोत्सवको आय–व्यय सम्बन्धी विषयलाई लिएर कुनै एक व्यक्तिलाई हाइलाइट गरी संस्थाको बदनाम गर्ने नियतले सामाजिक सञ्जालमा भ्रम फैलाउने प्रयास गरिएको बताएका छन् ।
उनका अनुसार कसैले पनि पुष्टि नभएका कुरा फेसबुकमा लेखेर भ्रम सिर्जना गर्नु उचित होइन । “यदि कसैलाई शंका छ भने सम्बन्धित निकायमा गई सत्यतथ्य बुझ्नुपर्छ, फेसबुकमै आरोप लगाएर संस्था र व्यक्तिको बदनाम गर्नु गलत हो,” न्यौपानेले भने ।

पत्रकार सम्मेलनमा बोल्दै बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले कपिलवस्तुको ऐतिहासिक, सामाजिक, आर्थिक र सांस्कृतिक पहिचानलाई देश–विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको बताए । उनले गत वर्षको १५औं महोत्सवकै मञ्चबाट यस वर्षको मिति घोषणा गरिएको स्मरण गर्दै भने, “यो महोत्सव कुनै व्यक्तिगत वा प्रतिस्पर्धात्मक स्वार्थ होइन, समग्र कपिलवस्तुको पहिचान र समृद्धिको अभियान हो ।”


अध्यक्ष खाँणले महोत्सवको सफलताका लागि आम नागरिक, उद्योगी, व्यवसायी र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै शान्ति सुरक्षालाई उच्च प्राथमिकता दिइएको जानकारी दिए । उनका अनुसार सुरक्षाका लागि सुरक्षा निकायसँग समन्वय, निजी सेक्युरिटी कम्पनीसँग सम्झौता, सिसिटिभी क्यामेरा र ड्रोनमार्फत निगरानीको व्यवस्था मिलाइनेछ । साथै, ४० जना भन्दा बढी स्वयम्सेवक महोत्सव स्थलमा परिचालित हुनेछन् ।

सोसाइटीका महासचिव बुद्धिबहादुर रोकाहा क्षेत्री ‘दिनेश’ ले महोत्सवले जिल्लाको पहिचान, सम्भावना र अवसरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गर्ने बताए । उनका अनुसार यस वर्षको महोत्सवमा कृषि, पर्यटन र उद्योगसँग सम्बन्धित उत्पादन तथा प्रविधि प्रदर्शनी, विविध सांस्कृतिक कार्यक्रम, व्यापार मेला, मनोरञ्जनात्मक गतिविधि, निःशुल्क स्वास्थ्य शिविर, एम्बुलेन्स सेवा, लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम तथा शैक्षिक कार्यक्रमहरू रहनेछन् । महासचिव क्षेत्रीले महोत्सवलाई कुनै व्यक्तिगत स्वार्थभन्दा बाहिर राखी सबै पक्षको सहकार्यमा भव्य र सफल रूपमा सम्पन्न गरिने उल्लेख गर्दै भने, “यो महोत्सवलाई राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो ।”

“कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी, युवाको हातमा सुनौलो बिहानी” भन्ने मूल नारासहित १६औं कपिलवस्तु महोत्सव बाणगंगा नगरपालिका–४, जीतपुरस्थित बुद्धरंगशालामा सञ्चालन हुनेछ । महोत्सवको तयारीका कामहरू केही दिनदेखि निरन्तर रूपमा जारी रहेको र अबको ध्यान भौतिक संरचना निर्माणमा केन्द्रित हुने जानकारी सोसाइटिले दिएको छ ।
पत्रकार सम्मेलनमा आयोजक संस्था बाणगंगा वेलफेयर सोसाइटीका पदाधिकारीहरूसँगै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पूर्वअध्यक्ष विष्णु न्यौपाने, युवा समाजसेवी शक्तिसिंह ठकुरीलगायतको उपस्थिती रहेको थियो ।








