कपिलवस्तु ।
कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार विश्राम प्रसाद थारु चौधरीले समृद्ध कपिलवस्तु निर्माणका लागि सबैको सक्रिय साथ र सहयोग अपरिहार्य रहेको बताएका छन्।
समाज निरन्तर गतिशील रहेको उल्लेख गर्दै उम्मेदवार चौधरीले समयको मागअनुसार जिल्लाको समग्र विकासमा आफू नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले विकास, समृद्धि र सुशासनलाई केन्द्रमा राखेर निर्वाचन अभियान अघि बढाइने बताए।


नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन परिचालन कमिटी, कपिलवस्तुको गजेहडामा सम्पन्न प्रथम बैठकलाई सम्बोधन गर्दै चौधरीले जिल्लामा रहेका विकासका अवसरहरूको अधिकतम सदुपयोग गर्दै कपिलवस्तुलाई समृद्ध जिल्लाको रूपमा स्थापित गरिने विश्वास व्यक्त गरे।
उनले जनताको भरोसा र साथलाई नै आफ्नो प्रमुख शक्ति ठानेर निर्वाचन अभियानलाई अझ प्रभावकारी बनाइनेसमेत बताए। सबै राजनीतिक दलका कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई एकताबद्ध भएर विकासको यात्रामा सहभागी हुन उनले आह्वान गरे।











