यतिबेला देश चुनावमय बनेको छ। कपिलवस्तु सहित देशैभर विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेद्वारहरूले आ–आफ्नो चुनावी प्रचार–प्रसारलाई तीव्र पारेका छन्। विभिन्न दल र स्वतन्त्र उम्मेद्वारहरू चुनावी मैदानमा उत्रिएसँगै कपिलवस्तुको निर्वाचन थप रोचक बन्ने संकेत देखिएको छ।

यसैबीच कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट अलग्गिएर युवा नेता आशिष शर्मा स्वतन्त्र उम्मेद्वारका रूपमा चुनावी प्रतिस्पर्धामा होमिएपछि यहाँको राजनीतिक समीकरण थप चासोको विषय बनेको हो। कांग्रेसभित्र लोकप्रिय युवा नेताका रूपमा परिचित शर्माको स्वतन्त्र उम्मेद्वारीलाई कपिलवस्तु जिल्लाको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।


कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचनमा क्षेत्र नं. १ बाट अत्यधिक मत ल्याएर विजयी भएका शर्माले पार्टीभित्र बलियो जनआधार बनाएका थिए। यद्यपि आगामी फागुन २१ गते हुने निर्वाचनका लागि क्षेत्रीय समितिबाट पहिलो नम्बरमा सिफारिस भए पनि केन्द्रबाट टिकट नपाएपछि उनी स्वतन्त्र रूपमा मैदानमा उत्रिएका हुन्।
शर्माको उम्मेद्वारीपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलहरूले आफ्नो जित सहज हुने आँकलन गरे पनि स्थानीयस्तरमा भने प्रतिस्पर्धा थप कडा हुने विश्लेषण हुन थालेको छ।


स्वतन्त्र उम्मेद्वार आशिष शर्माले क्षेत्र नं. १ का जनताको चाहना र युवाहरूको आग्रहलाई नकार्न नसकेर स्वतन्त्र उम्मेद्वारी दिएको बताएका छन्। शनिबार बाणगंगा नगरपालिका–बैरियामा आयोजित निर्वाचन लक्षित युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले युवाहरूको आशा र भरोसालाई निराश हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
को हुन् आशिष शर्मा ?
४६ वर्षीय आशिष शर्मा कपिलवस्तु जिल्लाको राजनीतिमा उदाउँदै गरेका युवा नेता हुन्, जसले व्यवसायिक सफलता, संस्थागत नेतृत्व र सामाजिक उत्तरदायित्वलाई एउटै धारमा जोड्ने प्रयास गरिरहेका छन्। कपिलवस्तुलाई कर्मभूमि बनाएका शर्माले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमबीए अध्ययन पूरा गरी स्वदेशमै दीर्घकालीन योगदान गर्ने बाटो रोजेका हुन्।

१४ वर्षभन्दा बढी समय वित्तीय सेवा तथा विभिन्न व्यावसायिक क्षेत्रमा व्यवसाय इकाई प्रमुखका रूपमा काम गरेका शर्माले चौधरी समूहको वित्तीय क्षेत्रमा वरिष्ठ महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। निजी क्षेत्रको नीति, व्यवस्थापन र आर्थिक अनुशासनमा उनको अनुभव सुदृढ मानिन्छ।
संस्थागत नेतृत्वतर्फ शर्मा उद्योग समिति, नेपाल चेम्बर अफ कमर्स तथा महासंघमा कार्यकारी सदस्यका रूपमा आबद्ध रहँदै नीति निर्माण र निजी क्षेत्र सुदृढीकरणमा सक्रिय रहेका छन्। नेपाल व्यवस्थापन संघको सदस्यका रूपमा तथा विभिन्न कम्पनीका बोर्ड सदस्य एवं सञ्चालकका रूपमा उनले सुशासन र सामाजिक उत्तरदायी नेतृत्वको अभ्यास गर्दै आएका छन्।

वित्तीय क्षेत्रमा शर्माको भूमिका उल्लेखनीय रहँदै आएको छ। उनले नबिल बैंक लिमिटेडमा काम गर्नुका साथै हिमालयन बैंक लिमिटेडका निर्देशक तथा नेपाल राष्ट्र बैंकद्वारा इजाजतप्राप्त युनाइटेड फाइनान्स कम्पनी लिमिटेडमा सञ्चालकका रूपमा सेवा गरिसकेका छन्। साथै युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका अध्यक्ष तथा बीमा समितिमा कार्य गरेको अनुभव पनि उनीसँग छ। हाल शर्मा हिमालयन बैंक लिमिटेडका बोर्ड सदस्यसमेत रहेका छन्।
कपिलवस्तु जिल्लालाई विशेष प्राथमिकतामा राख्दै शर्माले बुद्धभूमिमा २५ करोड रुपैयाँको लगानीमा नेपालकै पहिलो परिमार्जित वातावरणयुक्त ‘एग्रीवस्तु कोल्ड स्टोर प्रा.लि.’ स्थापना गरेका छन्, जहाँ उनी प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन्। यस परियोजनाले कृषि उत्पादनको संरक्षण, बजार सुनिश्चितता र स्थानीय रोजगारी सिर्जनामा नयाँ सम्भावना खोलेको छ।

राजनीतिक रूपमा मृदुभाषी, मिलनसार र विचारमा स्पष्ट शर्माले राजनीति सेवा, विकास र परिणाममुखी हुनुपर्ने मान्यता राख्छन्। पूर्व मन्त्री तथा भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायका छोरा शर्मा जेन–जी पुस्ताको प्रतिनिधि पात्रका रूपमा कपिलवस्तुका युवामाझ चिनिन्छन्। अनुभव र युवाशक्तिको संयोजनमार्फत कपिलवस्तुको समृद्धि र परिवर्तनको यात्रामा उनी सम्भावनायुक्त र क्षमतावान नेताका रूपमा अघि बढिरहेका छन्।
यसैबीच स्वतन्त्र उम्मेद्वार आशिष शर्मालाई निर्वाचन आयोगले चुनाव चिन्ह ‘जिप’ प्रदान गरेको छ। आयोगबाट चुनाव चिन्ह जिप प्राप्त गरेसँगै शर्माले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएका छन्। चुनाव चिन्ह सार्वजनिक भएसँगै क्षेत्र नं. १ का मतदातामाझ उत्साह थपिएको देखिन्छ भने समर्थकहरूले जिप चिन्हलाई परिवर्तन, गतिशीलता र विकासको प्रतीकका रूपमा व्याख्या गर्न थालेका छन्।
स्वतन्त्र उम्मेद्वार शर्माले चुनाव चिन्ह जिप प्राप्त भएपछि प्रतिक्रिया दिँदै जनताको भरोसा र समर्थनलाई अझ मजबुत बनाउँदै परिणाममुखी राजनीति गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।









