शितगंगामा चौथो कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सवको तयारी तिब्र
अर्घाखाँचीको शितगंगा नगरपालिकामा आयोजना हुन लागेको चौथो शितगंगा कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव २०८२ को तयारी तिब्र पारिएको छ।
शितगंगा उद्योग वाणिज्य संघको आयोजनामा तथा नमस्ते अर्घाखाँची समाजको सह–आयोजनामा हुन लागेको महोत्सवको लागि स्टल निर्माण, प्रवेशद्वार निर्माणलगायत भौतिक संरचनाका काम तीव्र गतिमा अघि बढिरहेका छन्।

पौष ९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब १ सय वटा स्टल रहने आयोजकले जनाएको छ।
महोत्सवले स्थानीय संस्कृतिको संरक्षण, सामुदायिक एकताको प्रवर्द्धन तथा पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास शितगंगा उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पन्थीले व्यक्त गर्नुभयो। उहाँका अनुसार महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।


महोत्सवका निर्देशक सुशिल के.सी. ले मेलालाई पूर्ण रूपमा सफल बनाउन सबै सरोकारवालासँग गरिएको छलफलबाट प्राप्त सुझावहरूलाई समेटेर तयारी अघि बढाइएको जानकारी दिनुभयो। यस क्षेत्रका अघिल्ला मेलाभन्दा फरक र आकर्षक बनाउने दाबी पनि उहाँले गर्नुभयो।


महोत्सवबाट स्थानीय उद्योगी, व्यापारी, किसान, उद्यमी तथा सर्वसाधारणबीच आपसी सहकार्य र सम्बन्ध अझ सुदृढ हुने विश्वास सह–आयोजक नमस्ते अर्घाखाँची समाजका अध्यक्ष हेमन्त कुमार बेल्बासेले व्यक्त गर्नुभयो।
यस स्थानमा पहिलोपटक महोत्सव आयोजना हुन लागेपछि स्थानीय बासिन्दामा विशेष उत्साह देखिएको छ। महोत्सवमा स्थानीय उत्पादन, हस्तकला, कृषि सामग्री, प्रविधि, घरेलु उद्योग, मनोरञ्जन तथा सांस्कृतिक सामग्रीको प्रदर्शनी गरिने तयारी गरिएको छ।
महोत्सवको प्रमुख आकर्षणका रूपमा ठाडा डमरु दहमा मोटरबोट (स्टिमर) सञ्चालन गरिने आयोजकले जनाएको छ। यसले डमरुदहको पर्यटकीय प्रचार–प्रसार र प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।










