रुपन्देही ।
कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी १ सयभन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शनिबार एमाले शिवराज नगरपालिका वडा नम्बर ४ कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा शिवराज नगरपालिका वडा नम्बर १, ३ र ४ का राप्रपाबाट एक सय बढी कार्यकर्ताले प्रवेश गरेको एमाले जिल्ला सदस्य एवं वडा नम्बर ४ का इन्चार्ज मोहन केसीले जानकारी दिए ।
वडा नम्बर ४ का बाबुराम थापा र दिपक बिकको नेतृत्वमा ६२ जना, देबीसिंह खडकाको नेतृत्वमा वडा नम्बर १ बाट ३६ जना र वडा नम्बर ३ बाट मिना सुनारको नेतृत्वमा २१ जना गरी जम्मा ११९ जनाले राप्रपा परित्याग गरी एमालेमा प्रवेश गरेको उनले जानकारी दिए। नवप्रवेशी नेता–कार्यकर्तालाई एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरधारिलाल न्यौपानेले स्वागत गरेका थिए ।

पार्टीको जागरण अभियान एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले एमालेले विरोध गर्ने विपक्षीलाई गफले होइन, विकास गरेर जवाफ दिने गरेका कारण जनलहर बढ्दै गएको र पार्टी प्रवेश कार्यक्रम संगठन विस्तारको दृष्टिले निकै महत्वपूर्ण रहेको बताए ।
आमनागरिकको विश्वास र समर्थन प्राप्त गर्दै एमाले देशको समृद्धि र स्थायित्वको यात्रामा अग्रसर हुँदै गएको उनको भनाइ थियो। पार्टीलाई अझ सशक्त र जनमुखी बनाउने अठोटका साथ पार्टीले अभियान सञ्चालन गरेको पनि उनले उल्लेख गरे ।

उनले एमालेको देश बनाउने नीतिविरुद्ध चौतर्फी आक्रमण नवप्रवेशीले राप्रपामा हुँदा हाम्रो आवाज सुन्ने कोही नभएको, संगठनगत गतिशीलता नभएको र एमालेमा सशक्त संगठन, स्पष्ट विचार र जनमुखी एजेन्डा देखेर प्रवेश गरेको बताएका थिए। एमालेले देखाएको विकासको दृष्टिकोण, कार्यशैली र जनतासँगको सम्बन्धले एमाले रोजेको उनीहरुले बताएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य झविलाल पोख्रेल, प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, अर्जुनकुमार केसी, लंकबहादुर हमाल, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्वअध्यक्ष डम्बर शर्मा, जिल्ला उपाध्यक्ष शंकर पाण्डे, जिल्ला सचिव चन्द्रबहादुर गहतराज, जिल्ला कमिटी सदस्यहरू, एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेललगायतले सम्बोधन गरेका थिए ।








