कपिलवस्तु ।
आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म सञ्चालन हुने १६ औं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को तयारी तीव्र गतिमा अघि बढिरहेको छ। “कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी, युवाको हातमा सुनौलो बिहानी” भन्ने मूल नारासहित महोत्सव बाणगंगा नगरपालिका–४, जीतपुरस्थित बुद्धरंगशालामा आयोजना हुने भएको हो। महोत्सवको मुख्य आयोजक बाणगंगा वेलफेयर सोसाइटीले आवश्यक भौतिक तयारी, संरचना निर्माण तथा प्राविधिक व्यवस्थापन तीब्र गतिमा भइरहेको जनाएको छ। विभिन्न कृषि, पर्यटन, उद्योग तथा स्थानीय उत्पादनसम्बन्धी स्टलहरू आकर्षक र व्यवस्थित ढंगले प्रस्तुत गर्न आवश्यक पूर्वाधार निर्माण भइरहेको सोसाइटीले बताएको छ।
सोसाइटीका अध्यक्ष राजकुमार खाँणले महोत्सवलाई व्यवस्थित, आकर्षक र सहभागितामूलक बनाउन विभिन्न संघ–संस्थासँग सहकार्य गरिएको बताउनुभयो । अध्यक्ष खाँणका अनुसार १६ औं कपिलवस्तु महोत्सव अब केवल प्रदर्शनी मात्र नभई स्थानीय पहिचान, अवसर र उत्साहको पर्वका रूपमा स्थापित भएको छ। यसलाई अझ व्यवस्थित बनाउन सबैसँग समन्वय गरी काम भइरहेको उल्लेख गर्नुभयो ।


त्यस्तै, सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाहा क्षेत्री ‘दिनेश’ले महोत्सवमा स्थानीय किसानको उत्पादनलाई पहिलो प्राथमिकतामा राखिएको बताए । महासचिव दिनेशका अनुसार कृषकलाई प्रोत्साहन र प्रचार–प्रसार दिने उद्देश्यले नगरपालिकाको कृषि शाखासँग समन्वय गरेर स्थानीय उत्पादनको प्रदर्शनी, कृषि औजारको प्रदर्शन तथा उत्कृष्ट किसानलाई पुरस्कारसमेत प्रदान गरिने बताउनुभयो ।


महोत्सवमा कृषि उत्पादन, स्थानीय हस्तकला, खाद्य तथा औद्योगिक सामग्री, पर्यटन आकर्षण, युवा उद्यमशीलता, खेलकुद तथा मनोरञ्जनसम्बन्धी विभिन्न कार्यक्रम संचालन गरिनेछ।
कपिलवस्तुको जितपुरस्थित बुद्धरंगशालामा आयोजना हुने यस महोत्सवले स्थानीय उत्पादन प्रवद्र्धन, कृषक उत्साह वर्धन, पर्यटन पहिचान विस्तार तथा उद्योग–व्यवसायमा नयाँ अवसर सिर्जना गर्ने उच्च अपेक्षा गरिएको छ। महोत्सवले प्रदेश तथा स्थानीय तहबीच सहकार्यमा आधारित दीगो आर्थिक विकासलाई समेत थप गतिशील बनाउने आयोजकहरूको विश्वास छ।









