
१९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम लिँदै रकम उठाउने एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।
अध्यागमन विभागले ती अमेरिकी नागरिकलाई पक्राउ गरेर अनुसन्धानअघि बढाएको छ । ती अमेरिकन नागरिकले अन्तराष्ट्रियस्तरमा ‘फण्ड’ उठाउने उद्देश्यले कलेजका वेबसाइटहरूमा राष्ट्रियस्तरका राजनीतिक नेताहरूको नाम, तस्बिर राख्दै ‘आवर डाइनामिक टिम’ भनेर उल्लेख गरेका थिए ।
जहाँ केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनादे चौधरीलगायत १३ जनाको नाम राखिएको पाइएको अध्यागमन विभागले जनाएको छ ।
यसका साथै लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम भनेर अन्य प्रतिष्ठित नेपालीहरुको नाम समेत राखेको भेटिएको छ । ‘निकलेज इडीयू एनपी’ नामको वेबसाइटमा यस्तो प्रचार गरिएको विभागका प्रवक्ता टिकाराम ढकाल बताउँछन् । यो कलेजले कोरियन, एआई सफ्टवेयर इन्जिनियरिङ, बिजनेस् स्टडिज् आदी अध्ययन गराउने सूचना राखेको थियो ।











